उ ओहोर दोहोर गरिरहन्छे
सडकको एक छेउ बाट
म अर्कै छेउबाट नियालि रहन्छु उसका पदचाप
कोमल, हलुका छातिमै हिँडाएपनी नदुख्ला जस्तो

उ बेला बेला कानमा 
अल्झाइरहन्छे झरेको कपालको कल्फी
म आफ्नो कपाल कनाउँदै सोचिरहन्छु उसलाई
चन्चल चिटिक्क आँखैमा राखेपनी नबिझाउली जस्ति

उ रिसाउदा कुरा गर्दै फोनमा
घिसारिरहन्छे नाकमुनी चोर औँला
म आफ्नो ओठमा राखेर चोर औँला कल्पिरहन्छु
फुल, गुलाफ काँडै भएपनि नघोच्ला जस्तो

उ कहिले काहीँ बस बिसौनिमा
छोडिरहन्छे नेपाल यातायात, पर्खिरहन्छे
सानो भएपनी फराकिलो, भिड भएपनि
उसलाई अटाउन सक्ने टेम्पो, मेरो मन जस्तो

उ कहिले काहीं, घुमाइरहन्छे टाउको
चलाइरहन्छे मुख, बनाइरहन्छे टिकटक
फेरि दिक्दार भएर बन्द गर्छे सबै
मानौँ उसलाई डुएट गर्ने साथी चाहिएको छ, म जस्तो

उ बिर्सिएर केही, खोतल्दै ब्यागमा
जब आत्तिरहन्छे, हडबडाई रहन्छे
खल्तिमा भएको कलम घुरिरहन्छ मलाई
मानौँ उसैले लेख्न बाँकी प्रेम पत्र, खोजिरहेको जस्तो

उ ओहोर दोहोर गरिरहन्छे 
र त कोटेश्वर बस बिसौनी गार्डेन अफ ड्रिम्स भएको छ
उ देख्खिरहेकी छ र त यो जाम पनि
बिहेको जन्ती भएको छ

उ भेट्टि रहेकी छ र त 
यो जिन्दगी म्वाँ भएको छ
उ देख्खिरहेकी छ अहिले पनि
र त कविता पनि वाह! भएको छ।

Post a Comment

0 Comments