द लास्ट राइड टु भेरि!

 

धेरैले डुबुल्की लगाएको अनि कतिले तुक्का लगाउँदै नक्सामा देखाएको भेरी! पश्चिम नेपालको एक विशाल नदि।

भेरीका धेरै शाखा उपशाखा भपनी सुर्खेतमै हुर्केको मलाई सुब्बाकुना पारी र छिन्छु वारिको भेरि मात्र थाहा छ!प्राय सुर्खेतिहरुलाई पनि भेरी भन्दा झट्ट यहिँको दृश्य आउँछ होला।

भेरी भन्दा झट्ट एउटा मात्र दृश्य आए पनि सुर्खेती जनमानसलाई भेरिले दुईवटा अर्थ लगाउँछ, एक भेरीले नदि र अर्कै भेरिले नाश। नव विवाहित जोडि भेरिसंगै गाँसिएको, नदिको सलिनता जस्तै प्रेमिल भावनाको फोटो हेरेर रमाउँछ, बुज्रुक जोडि, नदिको छाल जस्तै हुत्तिएर छुट्नै लागेका हात सम्झ्दै डराउँछ। डर र खुसिको राम्रै व्यापार गर्छ भेरी!

हुन त गल्ती उसको पनि हैन, असिनाको चोट खाएर खप्पिस बनेको ढुङ्गा झैँ, दोहोर्‍याइ दोहोर्‍याइ पीडा देखेको भेरीले आफ्नो मनपनि ढुङ्गा बनाइसक्यो, सयौं श्रीमति आफ्ना पतिको काखमा प्रेमले ओत्प्रोत नहुदैँ पतिकै नाममा लगाएको सिन्दुर पखालेको छ भेरिले, छोराले बाको हातबाट चक्लेट लिने बेलामा आफनै हातले दागबत्ती दिएको देखेको छ भेरिले, पढाइ लेखाइ हुर्काएका छोरा विदेशीदा धेरै बेर कुरेर अरु कसैले आगो दन्काएको देखेको छ भेरिले,  भर्खरै कमाउने भएको छोरो नयाँ घरको जग नहाल्दै आफैँ ढलेर बाबुको काँधमा उसैको समीप आएको देखेको छ भेरिले, भेरिले ती सारा कुरा देखेको छ जुन प्रशव पिडामा छ्ट्पटाइ रहेकि लाली गाईको आँखाबाट खसेका मोतिमा देखिन्छ्न्। 

वर्ष भरी श्राद्धको पिण्ड खाएको कागलाई र पहेँलो टिकामा रम्न जानिसकेको निधारलाई दशैँको भात र टीका जति आश्चर्यजनक हुन्छ त्यतिनै आश्चर्य हुन्छहोला भेरीलाई मानिसहरु रम्न उसको समिपमा पुग्दा! सायद त्यसैले पनि होला मानिसहरु दुखेसो भेरीसंग र पुजा पाठ पछिको चढावा, फुलपाती  मन्दिरलाई वा मोलखातलाई नै  चढाउन जाती मान्छ्न्। 

धेरैले आफ्नो हाड छाला र कयौंले आफ्नो सासनै भेरिलाई समर्पित गरेका छन्। तर यो विषयमा भने अलिक निस्ठुरी छ भेरी , सास प्राण समर्पित गरेकालाई पनि केही कोष आफुसंगै हिडाएर फेरि बोज मानेर फ्याकिदिन्छ बिच सफरमै! भेरी त आफ्नो सुस्केरा भन्दा पनि ती करोडौं उ संगै समर्पित हुन आएकाको गुनासो सुन्छ होला है?, कहिले काहीँ म आफैंलाई प्रश्न गर्छु। अनि जवाफ पनि आफैँले तयार पारेर भन्छु, भेरी त कहाँ अडिन्छ र उ त बगिनै रहन्छ बरु बग्दै जाँदा आफ्ना साथिहरुलाई सुनाउँछ होला, आत्मा पोलेर फर्किएका जिउँदा लासहरुको चीत्कार। यो जवाफले मेरो मनका लागि निकै सन्तुष्टिजनक हुन्छ। धेरै प्रश्नको जवाफ यसैले नै दिन्छ।

शरिरमा तागत रहुन्जेल भेरिसंगै साथी भएर आफ्नो पेट पालेकोहरु पनि एकदिन उसैमा मिसिन्छ्न्, कहिले काहीं जब भेरी उग्र भएर मच्चिन्छ, उसले विनाश निम्त्याएको होइन आफुले गरेको पापको प्रयाश्चित गरेको रहेछ। आफ्नै पेट काटेर पालेकि आमाले आफ्ना छोरा छोरी उसैको काखमा मरेको कहाँ देख्न सक्छिन् र , त्यसै गरि कतिलाई पानी, कतिलाई आहार अनि कतिलाई त आफ्नै किनारमा बास दिएकी भेरीले आफ्नै सन्ततीलाई आफ्नै काखमा खरानी बनाएको प्रयाश्चित रुनु छाडेर अरु कसरी गरून् त? त्यसैले त बेला बखत धमिलिन्छ र पानीको सतह बढ्छ भेरिमा।

सम्हालिदा सम्हालिदैँ पनि कयौंको अस्तित्व भेरिमै भेरिमै छाडेर आउनु नै धेरै कष्टकर हुन्छ, अब त कहिल्यै देख्नै नपाए नि हुने त्यो ठाउँ झै लाग्छ, कतिको प्रेम भेरिमै कुहिन्छ, कतिको ममता भेरिमै सकिन्छ, बाबाको आँखाको उदारता, पत्निको हृदयको प्रेम, दाइ भाइको आँड र भरोस, छोराछोरिको चमकता र चन्चलता र साथी भाइको साथ र स्नेह त्यहिँ भेरी किनारमा एक चिर्पट दाउरा र एक मुस्लो आगोसंगै सकिन्छ र एक दिन यस्तो पनि आउँछ,अरुको अस्तित्व बगाउन जानेहरु आफैँ बग्न तमतयार हुन्छन् र तय गर्छन् यात्रा द लास्ट राइड टु भेरी!


Post a Comment

0 Comments