एक थान बदनाम कविता!




युद्धमा हिडेँको योद्धा झै भित्तामा झुडिएको पात्रो, आफ्ना कसरत गर्न सिपालु सहयोद्धा अंकहरुलाई जिम्नास्टिक हनाउंदै निरन्तर अघि बढेको बढै छ। उसैको सामुन्ने उसलाई नै आड्म्बर देखाएर शरद, सिरिर, बसन्त केहि पत्तो नपाएर, उसलाई नै जित्ने होडमा निकै पछि परेको एक मुडो अर्थात म छु!

ए पात्रो ! आखिर किन तिमि प्रतिस्पर्धा गर्दैछौ म सँग ?म मेरा यादहरु समयसंगै नबगोस् चाहन्छु, तिमी किन बर्षौपछी आएको खहरे बनेर मेरा याद, खुला आँखाले देखेका ती अपुर्ण सपना बगाउन चाहान्छौँ।पात्रो माध्यम बनाएर समयसंंग अन्तरङ्ग कुरा गर्न मन लाग्छ। 

बाहिर बर्सिरहेको पानीसंगै मेरा आँखा बर्सिन्छन्, दुई थोपा आँसु ती खुला आँखाले देखेका सपनाको अन्त्यष्टी गरेर खै कता बिलाए, आँखा सफा गरेर मनको घाउ मेट्न मुटु तिरेर पो हिँडेकी? केही पत्तो छैन।

मुटुको धड्कन किन बेसरी सुनिन्छ आजकल कहिलेकाहीँ एकान्तमा आफैंलाई प्रश्न गर्छु, जवाफ न आउँदै एक लामो हिक्का आउँछ, पानी पिउछु तर पनि जांदैन, कस्ले याद गरिरहन्छ यसरी? निकै समय भयो यसरी हिक्कासंगै बाडुकी आउन थालेको, पहिले पहिले त पानीसंगै मेटिन्थे, ती बाडुल्की, आइरहन थालेको लामो समय भै सक्यो सायद आजसम्म वाटर प्रुफ भै सके ती याद जति पानी पिय पनि जांदैनन्। 

"किन पछि लाग्छौ हो कान्छा, नाई भनी हाले भने गार्हो पर्ला है।" ओठलाई मुख भित्र खिचेर हाँस्दै उ जिस्कन्छे। उ अर्थात सबनम लेखिएका एकथान बदनाम कविताका प्रेरणाकी स्रोत यो बाहेक अरु केहिँ भने अन्याय हुन्छ होला, यो लेखिदैँ गरेको कृतिलाई पनि!

उसको ओठ भित्रको हाँसो म सहजै देख्न सक्थे, अब यसलाई स्विकारोक्ती भन्ने कि के, म आफैँ जिस्किए,"तिमिले नाई भन्दै भन्दिनौँ भनेर मैले भने भने?" अहो! धेरै कन्फिडेन्ट पो छौँ त,"ओभर कन्फिडेन्स इज हार्म्फुल तु हेल्थ, थाह छैन।" उ जिस्किरहेकी छ म सहजै बुझ्न् सक्छु।

"लभ यु मोर", उसले केही नभन्दै मन तरङ्गबाट एउटा आवाज निकाल्छु, उ फर्किन्छे ,आफ्नो डिप्लोम्याटिक पोलिसी फेल खाएर अरु कसैको पोलिसीमा पछ्याउन तयार एक सुसंस्कृत राष्ट्रको धारासायी स्वाभिमान झैँ झुकेका थिए उसका आँखा। म तिनै आँखामा आफुलाई नियाल्छु, म अझै अटाइ सकेको छैन उसका आँखामा, तर आमन्त्रित छु प्रेमिल भावमा आभास गर्छु। उडिरहेको कल्फी काटेको एक सरो कपाल र मन्द मुस्कानलाई पछ्याउँदै म उसको हृदयसम्म पुग्छु, उ हांस्छे। त्यसपछि के भयो कसो भयो उ र मलाई मात्र थाह छ, बुझ्ने इच्छा नै छ भने यत्ती बुझ्नुस् शंख्मुल पार्कमा त्यसदिन अरु कसैले नदेख्ने गरि एक फुल फुल्यो, प्रेमको फुल।

उसलाई पाउनुमा केही गर्व रहेन अब, जति पस्चाताव हिजो सम्म उसलाई केही भन्न नसकेर सम्झिदैँ आफुलाई बिर्सनु थियो त्यसको एक भाग पनि नाई। किनकी यति सजिलै उ मेरि हुन्छे र छुट्टिएकै केही घण्टामा भेट्ने प्रस्ताव राख्छे अह! एक रत्ती भर थिएन, उपन्यास निक्कै पढ्ने मलाई प्रेमिल जोडिको पहिलो भेट निकै यादगार हुन्छ भन्ने छाप बसेको थियो, आफ्नो पहिलो प्रेमको पहिलो भेट पनि त्यस्तै होस् म चाहन्थे। तर यस्तो सहजताले निर्मित प्रेमको अवशान पनि निकै छिटो हुने गरेको कयौँ सम्बन्धका नजिर हरुले प्रस्टाउथें। हुन त प्रेमिल मौसम अन्तरङ्ग खुशीयालि र हर्षोल्लासका बिच कस्लाई पो नजिर पल्टाएर हेर्ने जाँगर चल्छ र!, मैले पनि पल्टाइन।

"अमिगो क्याफे"बानेश्वरको छत, आकाशमा धुम्म बादल, प्रेममा खुलेको मन, म प्रेमिल समयमा हराएको मनुवा घडिको समय चाहिँ हेरिन।हामी दुई र हाम्रा दुई अन्तर्गत अझ २ अट्ने स्थान छोडेर बसेका दुई नव प्रेमी। एक अर्काका आँखामा बिलिन, वेटर बोल्यो,"सर अर्डर?", बाहिरको शितल माहोल देखि निकै पर तातिएको मेरो मन भनि हाले,"कोल्ड कफि", उसले पनि टाउको हल्लाइ। उसलाई चुपचाप बस्ने  जेन्टल्मेन भन्दा बोली रख्ने स्वभाव मन पर्छ। 

उनले आफैँ सोधिन्," कति माया गर्छौ मलाई?" यति जति यो ब्रमाण्डको आयु छैन, यति जति भएपछी तिमिलाई अरु कसैको याद आउने छैन र यति जतिले यस सारा संसारको चाहना मलाई तिमी र तिमिलाई म हेरेर पुग्ने छ, यति बुझ संसारका सारा सिमित चिजहरु छाडेर अरु जे जे भेट्छेउ त्यो सबै मेरो मायाको उपज हो। मैले सहजै जवाफ दिए।

त्यसो भए ती गन्न नसकिने तारा सबै तिम्रै मायाको उपज होला है? म अक्मकिय, उ हाँसी!

“अनि तिमी कति गर्छ्यौ नि?” मैले सोध्दिन, किनकी मलाई राम्रै ज्ञान छ यो प्रश्न त्यर्साउने म एकल होइन उसका लागि अनि यस प्रश्नको उचित जवाफ पनि छैन उ सित।


"अनि यति माया चाहिँ किन कि?", उ ब्याङ्यात्म शैलिमा प्रश्न त्यर्साउछे। उसको यस प्रश्नको जवाफमा म देवकोटा भन्दा पनि छिटो र देवकोटा भन्दा पनि लामो महाकाव्य लेख्न सक्थे तर अह! केही भनिन भन्नै खोजेको भए केही छुट्थे केही थपिन्थे होला तर सदियौँ देखि उसका आखामा डुब्ने रहर लिएको मैले यस प्रश्नको जवाफ दिनुभन्दा उसका आँखामै रमाउने उचित ठाने।

सायद त्यहिँ हेराइमा नै जवाफ पाई उस्ले, लोलाएका आँखा अलिक तल हेरेर लज्जा मिश्रित आवाजमा भनी,"अब जाम!" म अलिक ढिट बन्छु, आफ्ना हात उ तिर बढाउछु उसलाई मलाई तान्न कर लाग्छ, उसको हात्केलाको स्पर्शसंगै म त्यहिँ सुनसान कोठामा धकेलिन्छु जहाँ पात्रो जिम्नास्टिक खेल्दै छ, घडिका सुइरा दौडदै छ्न् अनि म आफुसंगै लड्दै छु।

पानी राखेको लोटा समात्छु तर पानी खानुभन्दा पहिला सोच्छु, ‘के अहिले सम्म म उसकै यादमा बेचैन थिँए त ? कि यसैलाई मानिसहरु ननिदाएरै देखेको सपना भन्छन ?’ पानी खान्छु, तर एक्कासी उसको यादले चिथोर्छ । पहिलो भेटमा उसका बालसुलभ लाग्ने प्रश्नहरु सम्झिन्छु, उसको कर्के नजर सम्झिन्छु, उसको हातको स्पर्श सम्झिन्छु । तर यो भन्दा बढी सम्झेर अब अति मर्माहित हुने दुस्साहस म गर्दिन । निधार टेवलमा अड्याउछु, दुई हातको छाता ओढ्छु ।

 हातको छाता, पिंक ज्याकेट, जिन्स प्यान्ट अनि पुमाको जुत्तामा सजिएकि उसलाई देख्दा मनको एउटा कुनामा बजेको गित,"बगैंचामा नजाउ तिमि" सम्झन्छु यतिकैमा मोबाइमा अन्तिम पटक आएको उसको कल “सबनम कलिङ” को संकेत झलक्क याद आउँछ । सायद त्यसपछि त सुनेको नि छैन होला मैले  आफ्नै मोबाइलको रिंग्टोन, रंगहिन जिन्दगिमा रिंग्टोनले खास्सै महत्त्व पनि कहाँ राख्दो रैछ र! 

छोडेर गैसकेकि उ फेरि यसै गरि फोनमा पनि गैईहाल्छेकी भन्ने चिसो मनमा पस्छ र आफै बोल्छु, “हेलो ।” स्वरमा थरथराहट आउँछ।

उ बोल्छे !

कहाँ छौं? 

थाह पाएर के गर्छेउँ?

यतिकै! 

फोन पनि यतिकै हो भने राख, धेरै दु:ख नगर!

सायद यति सुनेर उसले चोर औंला नाक मुनि घिसारी होला, मलाई उसको बानी राम्रै थाह छ। 


"सुन्दै छु, एकलकाटे भाछौँ रे?"


सुन्दै छु? ए! तिमी पनि मेरो खबर राख्छेउ ?


उ कुरा देखि टाढा भाग्न खोज्छे,"अरु के छ?"


अब यहि एउटा चुडिएको मन छ, चाहिन्छ?” सोध्दिन । बडो जतनले सम्हालेको छु उ गए पछि आज भोलि मेरो मात्र सुन्छ,अब चुडिएकै भएपनी मन सुम्पिने हिम्मत छैन।


मानिसहरु नाटकका पात्र मात्र रैछ्न् है संसारमा? विज्ञहरुको के छ धारणा यस बिषयमा?


बुझिन अल्लि बुझ्ने गरि भनन!


"किन छाड्यौ मलाई?", मलिन स्वरमा यत्ती भने। 


तिमिले माया मात्र असीमित गर्छु भन्यौँ, असिमीत माया गरेरै देखाउने भेटे।


यो जवाफ मेरा लागि चित्तबुझ्दो थिएन, शब्द भुँइमा पर्न नपाउँदै भने,"असीमित माया गरेर देखाउनेले सिमित समय मात्र लियो भने?"यति भन्दै अट्टाहास हाँसे, उसले फोन राखी या राखिन पत्तो पाएन आफुलाई अघि हत्केलाको छाता बनाएर बसेको ठाउँमा पाए।


उसले मलाई कसरी छोडि त के भनुँ ? कसरिभनुँ ? अलिक बिस्तार गरिदिदा भन्न सकिन्छ ‘प्रेमात्राको एक दिन अनेकन निहुँ खोज्दै उ प्रेमको फुल फुलेकै ठाउँबाट फक्रीएको फुल चुड्न खोज्दै थिई । र मैले कसैगरी त्यो फुल बचाउन सकेको थिईन ।’ शंखमुल पार्कमा सुरु भएको प्रेम शंख ध्वनी सहित समाप्त भयो। 


उ गएपछि मनमा जेलिएका अनेकौं प्रश्नहरु अझैँ अनुत्तरित छन्।


तर उ? उ किन जान सकेकी छैन अझै म देखि टाढा, उसको आकृती किन मेरै वरिपरि घुमी रह्न्छ? उसले सुगर कोटेड पोइजना दिँदा पनि किन अझैँ खुसी खुसी खान तयार छ यो मन? बूढो रुख सरि मन हांगा बिङा लछारपछार हुँदा पनि किन नव पालुवाको आश नगरी पुरानै हांगा टाँस्न खोजिरहेको छ ?


“मलाई उसकै किन जरुरत छ ?” यो मनसँग आफ्नै मनको प्रश्न हुन्छ । “मलाई किन उसकै मात्र स्पर्श प्रेमिल लाग्छ ? के त्यस्तै स्पर्श अरु कसै बाट प्राप्त गर्न सकिँदैन?”


“मलाई किन उसकै नजरको अभाव महसुस भैरहेछ ? के यो अभाव अरु कसैको नजरले पूरा गर्न सक्दैन ?”


प्रश्नहरु अनुत्तरित नै छन् ।


उ देखि पर एकान्त कुनामा रमाउन थाले देखि उसकै यादलाई ओल्लो कुनामा र आफुलाई पल्लो कुनामा राखेर एक थान कविता लेखी सकिएछ,  कविता अर्थात एक थान बदनाम कविता। ती कविता त्यति नै बदनाम छन् जति मेरो माया उसको नजरमा छ। 


उ पात्र भएका कविता कसरी बदनाम हुन सक्थे र बदनाम त मैले लेखेर भएका हुन्, कहिँ कतै एकान्त भित्ता रुपि उनलाई सुनाएर भएका हुन्। बदनियत बाट लेखिएका भने हैन ती कविता, स्वच्छ मनले उनलाई नै कल्पिएर कविता बाटै उनको झल्को मेटाउन लेखिएका हुन् कविता, तर बदनाम छ्न् स्वच्छताको ओझेल परेर।


मैले रचेका कविता त्यसरी नै बदनाम छ्न् जसरी म अग्रसर भएर गरेको प्रेम। उनि अग्रसर भएको भए त रोमियो जुलियट, मुना मदनको कहानीलाई उछिन्थ्यो होला, उनले नै लेखेको भए त तिनै एक थान कविताले मदन पुरस्कार नै जित्थ्यो होला। बिडम्बना..


यसरि नै सकियो एक थान बदनाम कविताको एक बदनाम कथा।


Post a Comment

0 Comments