दुई पेट एक थाल


दशैँ आउदै गरेको समय,मुगलिनको बाटो हुत्तिदैँ सुर्खेत पुग्ने लक्ष्य बोकेर हिडेँको काक्रेबिहार यातायतको सेतो लामो बस। बाहिर राम्रै मौसम थियो, भित्र भने एक जमात क्याबिन देखि भित्रको ढोका देखि लिएर अन्तसम्म मडारिएको बादल झैँ पेट मडारेर, गर्जिदैँ एकनास रुपमा कालो पलास्टिकमा मुसलधारे पानी झैँ बर्सेको बर्सै थिए। मजस्ता अर्को हुल कानमा इयरफोन कोचेर त्यो वातावरण देखि निकै टाढा आफ्नैँ दुनियाँमा हराइरहेका थिए।

इयरफोनमा सुनिरहेको गितलाई गाडीमा बजिरहेको  गितले बेलाबेलामा उछिन्थ्यो,म रामकृष्ण ढकालको गित"हिरा काट्ने हिरैमा राखेर",सुनी रहेको थिए गाडिमा खै कुन पो गायको हो,"पान खायो मायाले चुना हालेर", बजिरहेको थियो। खलासि कराको भने इयरफोन भित्र पनि टाठै सुनिन्थ्यो, कलंकी कट्नै लाग्दा उसले," दाइ जाने हो सिट मिलाइदिन्छु" भनेको थियो, अल्लि पर पुगेसी," जति फाल्ने हो त्यहि अगाडि डस्ट्बिन छ त्यसैमा फाल्नुस् है गाडी फोहोर गर्ने हैन" भन्दै बर्बराउदै थियो। गाडी आफ्नै लयमा हिडिँरहेको थियो। मेरा आँखाका ढकन बिस्तार बिस्तार बन्दै हुन खोज्दै थिए।

"खै दाइ टिकट पाउँत", म झस्किए! पर्सबाट टिकट निकालेर दिए। खलासिले बहुत घुरेर हेर्यो र एकटक मेरो मुखमा हेरेर फिर्ता दियो। पछाडी भिर्ने झोला मेरो साथमै थियो, अर्को ठूलो झोला आफुबसेको  सिट भन्दा अघिल्लो सिटको मास्थिर राखेको थिए। एकपटक उठेर हेरे झोला सुरक्षित थियो। पहिल्यै कहिले, अहिले साल बिर्सिय, बा-आमा काठमाडौँ गएर फर्किदा उस्तै उस्ता झोला भएर हाम्रो र अरु कसैको झोला साटिएको थियो। बा-आमाले मायाले ल्याइदिएको खानेकुरा, कपडा सबैको बदला एक जोर मैलो ट्र्याक-सुट र एउटा फिता चुटेको घडीथ्यो। घडिले समय त ठिकै देखाइ रहेको थियो तर अवस्था त्यो चुटेको फिता जस्तो थियो। म त्यस भन्दा अघि कहिल्यै काठमाडौ गएको थिइन र मनमनै सोचेको थिए," म गए भने त आफ्नो सामानको सुरक्षा खुब मजाले गर्छु।" त्यसैले पनि होला लामो दुरिको गाडिमा  आफ्नो गन्तव्य सम्म नपुग्दा सामान हराउँछ कि त्रासनै त्रासमा यात्रा अझैँ पनि गर्छु। कहिले काहीं बाइक चलाउदा पनि पैसै नभको पर्स र अघिल्लो गोजिमा राखेको मोबाईललाई घरीघरी छाम्छु।

त्यसदिन पनि यस्तै भैरहेको थिए। निदाउथे, गाडी हुत्तिदा झस्किन्थे र ब्युजिन्थे, सामान ठाउँमै त छनि भन्दै हेर्थे र फेरि निदाउने कोसिस गर्थे। एकफेर लामो निन्द्रमा पुगेछु गाडी घ्याच्च रोकियो। सबै जना बाहिर निस्किए। खलासी," खाना खाउँ है अन्त रोख्दैन ३० मिनेटमा जे जे खान छ खाउँ", भन्दै कराउँदै गाडिका टायरमा ढुङ्गा हाल्दै थियो।

कोहि खलासी नीर पुगेर स्टाफ खाना खुवाउने भनेको हैन भाइ भन्दै मोलमोलाइ गर्दै थिए, त्यहाँ खलासी नीर पुग्नेमा सबैभन्दा अघि, गाडिमा पनि मद्रासी फिलिम लगाउन भाइ भन्दै कराउने खुट्टा बडेमानको बुट र निधारमा टालो बाँधेका दाइ थिए, उनी पक्कै दैलेख हिडेका हुन् म उनको बोल्ने शैलीबाट अड्कल काट्न सक्थे। कोहि होटेल अगाडि रहेको बेसिनमा मुख धुदै थिए कोहि चर्पिमा पालो कुर्दै थिए। म पनि चर्पी गए आएर हात मुख धोय र खाना खान बसे। एक्कासी मेरो नजर एउटा जोडिमा गयो।

नाकमा बुलाकी, कानमा ठुला रिङ जस्ता काँडेदार मडरि र हातमा बाला लगाएकी महिला, उनै महिलाको हात समाएर हिडाइरहेका मैलो इस्टकोट लगाएका पुरुष। हाफ टिसर्ट माथि इस्टकोट र शिरमा मैलो ढाका टोपी  लगाएका उनलाई हेर्दा यस्तो लागिरहेको थियो उनि आफुसँग कुनै ठूलो पहाड लिएर हिडिँरहेका छन्। सायद श्रीमान् श्रीमति हुन् मैले अड्कल काटे। वाक्दा वाक्दा थलिएर हिड्नै नस्क्ने जस्तो देखिएकी थिइन्। चाउरी परेको अनुहार झन् गाडि भरी वाकेर हिड्दा अनुहार चाउरिएको मरिच झै देखिको थियो। उनका श्रीमान् पनि श्रीमतिलाई सम्हादा सम्हादै आफै गलि सकेका जस्तो देखिन्थे। हाफ टिसर्ट लगाएका थिए, हातमा निला मोटा नसा टाठै देखिन्थे। मेरो खाना आसकेको थियो। 

मेरो खाना आइसक्ने बेला सम्म पनि उनिहरु होटल भित्र छिर्न अनकनाइ रहेका थिए। "के खाने बाजे", होटलको साहु पैसा तिर्ने गल्ला देखि भित्र बाट करायो।" भात खाउकी भुन्या",बाहिर देखि आवाज आयो। "ल बाजे बस्नुस दुइटा खाना त्यो टेवलमा ल्याइदिन्छ", साहुले भन्यो। मैले एक गाँसपनि मुखमा हालेको थिइन। त्यो दृश्य मेरो लागि आनौठो थियो। त्यतिकैमा बजैले बाजेको हातमा यसो कोट्टाइन, बाजे झस्किए , "दुइटा नै नानी एक थाल भात", मलाई अचम्म लाग्यो । बाजे बजैलाई लिएर चर्पितिर लागे हात मुख धोएर आए, बजै अघिनै भन्दा अहिले निकै उज्यालो देखिएकी थिइन। पहिले देखे जस्तो धेरै चाउरी पनि परेको रहेनछ उनको मुहार, हाँस्दा हल्का चाउरिएको छाला नाक सम्म पुग्दो रहेछ।मलाई हेरेर बुलाकी भित्र बाट हल्का हाँसिन्, म पनि हाँसे। त्यतिनजेल सम्म मैले एक गाँस पनि मुखमा हालेको थिइन। उनिहरु मेरो छेउको टेवलमा बसे।साहुनी हुन् सायद सुकिला लुगामा सजिएर त्यस दम्पतिलाई एकथाल खाना ल्याइदिइन्।

टेबल अगाडि राखिएका चम्चाहरु बाट उनीहरूले २ वटा चम्चा झिके र एक एक वटा बाँडे, हातैले खान्छु भनी तर्खर गरेको मैले पनि आफ्नो टेवलमा रहेको जगबाट १ वटा चम्चा झिकेँ। मैले खाना सुरु गरें, उनीहरूले पनि एउटै थालबाट चम्चाले झिक्दैं खान सुरु गरे। अलिक परबाट उनीहरुलाई नियालीरहेकी साउनी म तिर हेर्दै मुसुक्क हासिन् अनि सोधिन्,"बाबुलाई मासु ल्याउनु पर्छ?" खान मन लाग्दा लाग्दै पनि मैले "नाई" भनिदिएँ। उनीहरूले थप खाना मागेनन्, मैले पनि मागिन्। खाना सकेर हामी सँगै उठ्यौं।

बाहिर निस्केर बेसिनमा मुख खोकल्यौँ। मलाई केही भन्न सकेन खलासिले, अल्लि उत्तेजनामा आएर छोडिएला है बाजे छिटो अर भन्दै करायो।उनिहरु पनि छिटो छिटो आए। अन्तिमको सिट रहेछ उनिहरुको फर्किएर हेरे। त्यस्पछि निदाएको म शम्सेरगंज गएर ब्युझिँए। त्यतिन्जेल केही सोच्नै सकिन। यतिकै इयरफोनमा गित सुनेर  मन बरालेर हिडिँरहेको थिए। छिन्छु पुगेछौँ, हिजो मैले बेसरी नियालेको दम्पत्ती ओर्लिए। सायद जाजरकोट जाने हुन्।उनिहरु ओर्लिए पछि भेरी नदि कटे पछि धेरै अगाडीसम्म के के कुरा सोचि रहे ।

हप्ता दिन अघि प्रेमिल जोडि हनिमुनका लागि आएका बेला एउटा गिलासमा दुइटा स्ट्र लिएर यसरी नै खाएको देखेको थिएँ, त्यस बेला मनमा माया जागेर आएको थिए त्यसपछि आज देखेँ, करुणा जागेर आयो।अनि सोचें,'एउटै थालमा खाना खानु प्रेम मात्र हुँदैन, अभाव पनि हुँदोरहेछ।' सम्पन्नताको दुई थाललाई अभाव र करुणताको एक थालले जित्दो रहेछ।  



Post a Comment

2 Comments