आजभोली रुखको छहारिमा
त्यो शितलता रहेनछ
जसले हुर्कदै गरेको आँतमा
सिरर् हावा छर्थ्यो
रहन त यो बतासमा पनि
पहिले जस्तै झोक्का रहेनछ
जसले उडिरहेको बास्ना
झ्याप्प खोस्ने गर्थ्यो
गाउँघर बाटाले जोडेछन्
मोटर खुबै कुदेका छन्
सायद पुरिदिएछ डोजरले पुरानो बाटो
जुन सिधैँ मनमा पुग्ने गर्थ्यो
हर्के हराएछ गाउँबाट
सहरमा व्यापार गर्छ अरे
फुर्के दौडन्थ्यो दिनरात
पल्टनमा भर्ती भयो अरे
चौतारोको रौनक, पासाको थरी
अहिले लुडोमा भेटिन्छ
सीता पनि टाढै गइछन् बेहुली बनेर
काकालाई नातिको माया फोनले मेटिन्छ
सबै सकिएछ गाउँमा
बाँकि बुढा रुख जसै बुढा बा रहेछन्
बा सङै एउटा
झिनो आश रहेछ
बाले भन्न त भनेनन्
यत्ती आश छ भनेर,
सुनाए ब्यथा
लाली हराएका गुराँसहरुको
खुर्पेटा हराएका आँसिहरु
अनि
काफल पाक्दा पनि नकराएका कोइलीहरु
एकाबिहानै मास्टरको घरमा
रेडियो घन्किन्न अरे,
चक्लेट लेर लाहुरे पनि
गाउँ फर्किन्न अरे
मदानी र ठेकी लड्दा
घाँटी चिसो हुन्थ्यो भन्छन्
म त अझैँ तगडा छु
खेतमा गोरु आफैँ नार्छु भन्छन्
बा बिबश छन्
बिबशता देखाउन्न
हास्छ्न् मस्त कहिल्यै
आँसु देखाउनन्
गाउँ घुमे पुरै
पधेरामा चिसो मुलको पानी भेटिएन
मकै एक्लै गोड्दै थिन् आमै
पर्म तिर्ने कोहि माखो देखिएन
बाको हाँसो फिक्का रहेछ,
बा आशावान रहेछन् बुझे
घुमे सबै गाउँ,
अह! कतै केही भेटिन
साँच्चै मैले ती बुढा बा देखि बाहेक
वास्तविक गाउँमा गाउँ भेटिन।
0 Comments