हुनत मानिस भएर जन्मिएपछी जीवन जिवान्तर केही न केही लेख्नु नै पर्छ। जन्मदा दैवले ललाटमा भावी लेखेर पठाएका हामी नलेखी कसरी पो बस्न सक्थ्यौ र!
परापुर्व कालमा लामो तपस्या गरेर ऋषिले लेखेका पुराण, वेद र लिपीहरुले अहिले सम्म पनि समाज सन्चालन र सामाजिक प्रक्रियाहरुको सन्चालनमा टेवा पुराइरहेका छ्न्। १९१० तिर भानुभक्तले नेपालीमा उल्था गरेर लेखेको रामायणका श्लोक अझै पनि प्रायः नेपालीको घरमा हरेक बिहान गुनजिन्छन्।
सन् १६८७ तिर न्युटनले पत्ता लगाएको गुरुत्त्वाकर्षणको नियम र सन् १९०५ तिर आईन्स्टाइनले पत्ता लगाएको सुत्र E=Mc^2 कतै कुनै लिपिमा नलेखिको भए अझै पनि यो दुनियाँ धेरै बर्ष पहिलेको जीवन ब्यतित गरिरहेको हुन्थ्यो। लेख्नु महत्वपूर्ण हुन्छ, अहिले लेखिएका पान्डुलिपी, लेख,रचना अनि काब्यहरुले नै पछि को समयमा अहिलेको संस्कार, संस्कृती र जीवनयापनको तरिका देखाउँछ।
यो त अझ इमेल अनि ईन्टरनेटको समय हो। अहिले केही लेखेर वेबसाईटमा राख्ने हो भने ती लेखहरु लामो समय सम्म सुरक्षित रहन्छन्। न त धमिरोले कागज खाला भन्ने डर न पानीमा परेर मसि मेटिएला पनि तनाव। तर पनि यो विशाल युगमा अहिले सम्कै सबैभन्दा ठूलो चुनौती देखा पर्न थालेको छ।कि,"अब लेख्नु को के सार?"
धेरैलाई लाग्न सक्छ युगले विभिन्न बिधामा विशाल विशाल परिवर्तन ल्याउदा पनि किन नलेख्नु, किन नदेखाउनु आउँदो पुस्तालाई हामिले ल्याएको परिवर्तन। तर कुरा गम्भीर छ।
पढ्न इतिहासमा हामिले पनि पढेका हौ, अहिलेका विशाल विशाल रास्ट्र हरुले त्यस बखत आफ्नो साम्राज्यवाद फैलाउन निम्त्याएको हिंसा, आफुलाई सर्वसक्तिमान देखाउन बनाइएका हतियार अनि साम दाम,दण्ड, भेद केही नलागेपछी खसालिएका गोला बारुद हरुको कहानी!
अब फेरि के लेख्नु, सर्वशक्तिमान बन्ने होड्मा अमेरिकाले देखाइरहेको असल साम्राज्यवादको खोर्को प्रसंशा कि हरेक तेस्रो हप्ता आफ्नो दमन विरुद्ध बोल्यो भनेर उसैले अर्को हिरोसिमा बनाउन खोजेको सिरिया अनि इराकको बीभत्स कथा। कि लेख्ने,अनुहारको चमक बिगार्ने गरि छ्यापिएको अम्लको मिठास। कि लेख्ने, अर्को ग्रहमा बस्ती बसाल्ने होडमा बर्बाद पारिदै गरिएको अफ्नै ग्रहको कहानी।
संसार त अल्लि परकै कुरा भयो।कुरा गर्दा पनि दुनियाँ सात समुन्द्र पारी छ भनेर नै कथन गरिन्छ नेपालमा। नेपालकै बारेमा पनि के लेख्नु! लेख्नु कि, सति प्रथा चन्द्र सम्सेरले निर्मुल गरे पनि हजारौं चन्द्रेका स्वास्नी जिवन्त सेतैमा सजिएको रंगिन परिदृश्य या लेख्नु गाउँमा भोट माग्न जाँदा गरिएको बराबरिको भाषण र घर पुग्दा जनैमा बाँधिएको चावीले सन्दुक खोलेर श्रीमतीलाई दिइएको रुपैयाँको दृस्टान्त या लेख्नु देखाउन लेखिएको छोरा-छोरी बराबर वाला पाना छोरीलाई छाउगोठमा पठाउदा संविधानको किताब बाट च्यातिएको कथा।
या त लेख्नु, बिद्या लिन बिद्यालय गएकी निर्मलाको निर्मम् बलात्कारको कथा, या लेख्नु भाग्दा भाग्दा लडेर भासिएको भागरथिको भग्यको संघर्ष।के लेख्नु फेरि मुलुकी ऎनले हटाएको छुवाछूतले कुनै मन्दिर अगाडि संविधानको समेत गला रेटि रहदा पनि?
आखिर ,"अब कविले कविता के शीर्षकमा लेख्ने,","पत्रकारले समाचार कुन समस्यामा लेख्ने,","निबन्धकारले के फेरि कोटाउने उहीँ दाइजो प्रथालाई,","चुनावमा फेरि के उहीँ पुरानै आस देख्ने","के कर्णाली फेरि उहीँ पखालाले नै मर्ने हो,","आफ्नो हकको लाई किसान फेरि संसद नै घेर्नु पर्ने हो," अब के सार यो लेखाइ को?, लेखिएको तर नदेखिएको समस्याको ,देखिएको तर हेपिएको प्रवृत्तिको।
कस्ले दिने जवाफ यो मेटाइएको भावीको, देख्दा देख्दै पनि चिम्लिएलो परेलिको, उकालो लाग्दा लाग्दै आएको ओरालिको, तल्लो जात भएकै कारण हर्केले नापाएको मानको,देख्यो,लेख्यो सोध्यो जवाफ सङै भोग्यो हार,"आखिर लेख्नुको के सार?"
2 Comments
Great work buddy....
ReplyDeleteGood,could be better if end was extended and beginning shortened .
ReplyDelete