कवि कविता लेख !

 

Nepali poem


तिमी भन्छौ मलाई 

कवि कविता लेख

कवि त शब्दका धनी हुन्छन् ,

त्यसैले सुर्य लालिको कविता लेख,बर्षौ सम्म पनि छाउन नसकेको घरको पालीको कविता लेख 


कवि त गीति स्वादका धनी हुन्छन् ,

त्यसैले प्रितका कविता लेख,

कोकिलका कविता लेख

 बुलबुलका कविता लेख!


तर 

मिर्मिरेमा उदाउँदै गरेको सुर्यलाई, बद्नाम गर्न ;

रात भरी जागी रहेका लाटोकोसेरोहरुको 

कविता

म लाली सङै जोडेर कसरि लेख्न सकुँ?

अनि कसरी लेख्न सकुँ

पाली छाउने रहर चुहाएर ;दुधे बालकलाई लाम्टा चुसाउन स्वदेशीएको परदेशि बाउको कविता


मन नपरेकै अनुहार वा

मन नपरेकै पहिरनमा 

तिरस्कृत आत्माहरु; आस्तित्व खोज्न भड्किरहेको बेला

तिमी नै भन प्रियसी!

प्रितका कविता म कसरी लेख्न सकुँ।


आँखै अगाडि बलत्कृत बहिनिको आँसुले माटो सुक्न नपाउदै

अन्धकारमा जेलिएको परिवारको शोक छाडि

ए मालिक!

म कोकिलको कविता कसरी लेख्न सकुँ?


सन्त्रासै सन्त्रासले घेरिएर 

दुई मुठी सास घिटिक घिटिक गर्दै 

यो मृत्युुको दोहोरीमा; टुक्का गास्न छाडी 

ए मालिक!

म बुलबुलको कविता कसरी लेख्न सकुँ?


तर पनि तिमी भनी रहेछौ; कवि कविता लेख !

                                     

Post a Comment

4 Comments